कर्णाली, १७ कात्तिकः कर्णाली प्रदेश सरकारको आज सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले जानकारी दिनुभयो ।
बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ र कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।