काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ अर्थात् दुर्गा पक्ष आज धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै औपचारिक रूपमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम आजै सम्पन्न हुनेछ। यससँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजै समाप्त हुन्छ। आजै दसैँको जमरालाई नजिकैको नदी, तलाउ वा पवित्र तीर्थस्थलमा लगेर सेलाइन्छ।
समितिका अध्यक्ष सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईका अनुसार आज साँझ महालक्ष्मीको पूजा–आराधना गरी राति जाग्राम बस्ने मानिसको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले प्रवेश गरी धन र ऐश्वर्य प्रदान गर्ने धार्मिक विश्वास रहेको छ। माता दुर्गाका तीन रूपमध्ये एक रूप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गर्ने परम्परा छ।
कौमुदी पूर्णिमाका नामले पनि चिनिने यस दिन महालक्ष्मीका साथै हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ।
यसैबीच, कार्तिक स्नान र तुलसीको विशेष पूजा-आराधना भने भोलि सोमबारदेखि सुरु हुने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। साथै, आकाशदीपदान कार्यक्रम पनि भोलि साँझदेखि नै सुरु गरिनेछ।