काठमाडौँ — बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लासका साथ मनाइँदै छ।
दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका प्रसाद ग्रहण गर्नका लागि बिहान १०:२६ बजेको साइत उत्तम रहेको छ।
यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणका लागि टीका लगाउन साइत नै खोज्नुनपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ।
यसअघि घटस्थापनाका दिन स्थापना गरिएको देवीको विसर्जनको साइत भने आज बिहान ०८:४९ बजे रहेको छ।
टीका लगाउँदा को कता फर्कने?
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाउने र लगाइदिनेको दिशा निर्धारण गरिएको छ:
टीका लगाइमाग्ने (थाप्ने): पश्चिम फर्कनुपर्नेछ।
टीका लगाइदिने: पूर्व फर्केर बस्नुपर्नेछ।
चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्दा चन्द्रमाको स्थिति अनुसार दिशा निर्धारण हुने गर्दछ।
पुरुष र महिलालाई दिइने फरक-फरक आशीर्वाद मन्त्र
दसैँमा मान्यजनले टीका र जमरा लगाइदिँदै दीर्घायु, आरोग्य र प्रगतिको कामनासहित आशीर्वाद दिने गर्छन्। पुरुष र महिलाका लागि फरक-फरक मन्त्र उच्चारण गर्ने शास्त्रीय परम्परा छ:
१. पुरुषका लागि आशीर्वाद मन्त्र:
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।
अर्थ: द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो श्री (सम्पत्ति), भगवान् रामको जस्तो शत्रु नाश, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शूरता, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान-विज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस्।
२. महिलाका लागि आशीर्वाद मन्त्र:
महिलालाई दुर्गा देवीको स्वरूप मानेर निम्न मन्त्रद्वारा आशीर्वाद दिइन्छ:
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
अर्थ: जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नाम गरेका देवीहरूलाई म नमस्कार गर्दछु (यी देवीहरूको कृपा सदा बनिरहोस्)।
पूर्णिमासम्मै टीका लगाउन सकिने
आज टीका लगाउन नभ्याउने वा टाढा रहेका आफन्तहरूले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्नेछन्।
नेपालका कतिपय क्षेत्रमा विजयादशमीका दिन मात्र टीका लगाउने परम्परा छ भने कतिपय समुदायमा कुल परम्पराअनुसार दही र अक्षताको सेतो टीका लगाउने चलन पनि रहेको छ।