२७ असोज, २०८३ (१३ अक्टोबर, २०२६)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो आवाज भन्दै सार्वजनिक गरिएको विवादास्पद अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी दुष्प्रचार गर्ने नियतले बनाइएको दाबी गर्नुभएको छ। मङ्गलबार सामाजिक सञ्जालमा भिडियो सन्देश र क्याप्सन पोस्ट गर्दै सांसद सुनारले आफूमाथि लागेका सबै आरोपहरू पूर्ण रूपमा निराधार र झुटो रहेको प्रष्टीकरण दिनुभएको छ।
नेपाल प्रहरीभित्र व्याप्त भ्रष्टाचारविरुद्ध आफूले निरन्तर आवाज उठाएका कारण संगठित रूपमा प्रहार भइरहेको बताउँदै उहाँले एक काल्पनिक महिलासँगको संवाद भनेर प्रचार गरिएको अडिओ प्रविधिको दुरुपयोग गरी सिर्जना गरिएको बताउनुभएको छ। एक महिलालाई टेलिफोनमार्फत अपशब्द र धम्की दिँदै दुर्व्यवहार गरेको अडिओ सार्वजनिक भएपछि तीव्र आलोचना भइरहेका बेला सुनारले घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गर्न आफ्नो पार्टी रास्वपा र नेपाल सरकारसँग माग गर्नुभएको छ। उहाँले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।
अडिओ प्रकरण सार्वजनिक भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सो विषयलाई गम्भीरतापूर्वक लिँदै केन्द्रीय अनुशासन समितिलाई विस्तृत छानबिन गर्न औपचारिक निर्देशन दिइसकेको छ। साथै, छानबिनको अन्तिम प्रतिवेदन नआउञ्जेलसम्मका लागि पार्टीले सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रम वा दलका गतिविधिहरूमा सहभागी नहुनसमेत निर्देशन जारी गरिसकेको छ।