२६ असोज, २०८३ (१२ अक्टोबर, २०२६)
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ दुई दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार दिल्ली प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ।
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक असोज २७ गते (अक्टोबर १३) मा नयाँ दिल्लीमा आयोजना हुँदै छ। भारतीय गृहमन्त्री अमित शाहको विशेष पहलमा आयोजना हुन लागेको यस ऐतिहासिक बैठकमा क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, मानव बेचबिखन नियन्त्रण तथा आतङ्कवादविरुद्धको सहकार्यबारे छलफल हुनेछ। बैठकमा नेपालका गृहमन्त्री गुरुङका साथै भारतका गृहमन्त्री अमित शाह, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्यान्डका अनुतिन चानविराकुल सहभागी हुने कार्यक्रम रहेको छ।
आफ्नो पहिलो विदेश भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। भेटमा नेपाल-भारत सीमा सुरक्षा, सूचना आदानप्रदान र आपत्कालीन विपद् व्यवस्थापनमा दुई देशबिचको सहकार्यबारे छलफल हुनेछ। गृहमन्त्री गुरुङ असोज २८ गते भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुहुनेछ।