२५ असोज, २०८३ (११ अक्टोबर, २०२६)
गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित चुम्चेतको उग्युलुङ खोलामा आएको पहिरोसहितको बाढीका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आएको छ। उग्युलुङ खोला बूढीगण्डकी नदीको मुख्य सहायक खोला हो। बाढीका कारण नदीमा पानीको बहाव अत्यधिक बढेपछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार माथिल्लो भेगमा नदी थुनिने र त्यसपछि फुटेर लेदोसहितको बाढी आउने क्रम कायमै रहेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बूढीगण्डकीमा ठुलो आवाजसहित बाढी आएको प्रारम्भिक सूचना प्राप्त हुनासाथ उद्धार तथा निरीक्षणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिनुभएको छ। साथै, वस्तुस्थिति बुझ्न र उद्धारका लागि हेलिकप्टरसमेत पठाउने तयारी भइरहेको छ।
बाढीका कारण हालसम्म कुनै मानवीय क्षति भएको आधिकारिक पुष्टि भएको छैन। तर, नदी किनारको बगरमा रहेका एक-दुई वटा अस्थायी घरहरू बगाएको भन्ने खबर आएकाले प्रहरी टोलीले त्यसको पुष्टि गरिरहेको छ। स्थानीय बासिन्दाका अनुसार पहाडी भौगोलिक बनावटका कारण यस क्षेत्रमा बेलाबेलामा नदी थुनिएर एक्कासि लेदोसहितको बाढी आउने जोखिम रहँदै आएको छ। प्रशासनले बूढीगण्डकी नदी तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।