बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

  • शनिबार, अशोज २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

लमजुङ, २४ असोजः बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ ।

डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो । उहाँका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।

रामबजार, नासोँ गाउँपालिका-३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो ।

“नासोँ गाउँपालिका-३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुङ्गा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भन्नुभयो । बाढीपहिरोबाट क्षतिग्रस्त स्थानमा सडक सुधार गरी पक्की सडक निर्माण तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउन रु एक अर्ब आवश्यक पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

सोहीअनुसार बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले उल्लेख गर्नुभयो । हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उहाँले बताउनुभयो । बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो ।

यसैगरी, तीन वर्षअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि रु तीन अर्ब लागत अनुमान गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाइएको आयोजना उहाँले बताउनुभयो ।

प्रमुख सुवेदीका अनुसार रु तीन अर्ब उपलब्ध भए सडकको समग्र स्तरोन्नतिसँगै बाढीपहिरोबाट क्षति पुगेका स्थानको सुधार तथा पुनर्निर्माणसमेत गर्न सकिनेछ । रु एक अर्ब उपलब्ध भए तत्काल क्षति पुगेका स्थानमा पक्की सडक तथा पुल निर्माण अघि बढाउन सकिने उहाँले बताउनुभयो । बेँसीसहर-चामे सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग हो । सडकको स्तरोन्नति तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणले यातायात आवागमन सहज बनाउनुका साथै स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।
—

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ