२३ असोज, २०८३ (९ अक्टोबर, २०२६)
काठमाडौँ। विश्वका सबैभन्दा धनी उद्यमी इलन मस्कले भारतमा आफ्नो स्याटलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ सञ्चालनको अनुमति पाउन ढिलाइ भएको भन्दै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीमाथि गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँगको तनाव थप उत्कर्षमा पुगेको छ। मस्कले भारतीय दूरसञ्चार बजारमा केही अर्बपतिहरूले एकाधिकार कायम राख्न खोजेको र स्टारलिंकको प्रवेश रोकेको दाबी गर्दै यसलाई ‘भारतका जनताविरुद्धको अपराध’ समेत भन्नुभएको छ। बिहीबार मस्कले “के अम्बानी नै भारतका वास्तविक मालिक हुन्?” भन्दै प्रश्न गरेपछि यो विवाद राजनीतिक रूपमा झन् तातिएको छ।
मस्कको अभिव्यक्तिपछि भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि टिप्पणी गर्दै व्यङ्ग्य गर्नुभएको छ। गान्धीले सामाजिक सञ्जाल एक्समा “भारतमा स्वागत छ, इलन। अर्को मान्छेलाई चिनेपछि अझ थाहा पाउनुहुनेछ” भन्दै व्यङ्ग्यात्मक पोस्ट गरेपछि मस्कले त्यसको उत्तर दिँदै यो अवस्था साँच्चै चिन्ताजनक रहेको बताउनुभएको छ। अर्कोतर्फ, भारतको सञ्चार मन्त्रालयले भने मस्कका आरोपहरूलाई पूर्ण रूपमा खण्डन गर्दै देशको नियामकीय व्यवस्था निष्पक्ष र विभेदरहित रहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार स्टारलिंक, रिलायन्स जियो र युटेलस्याट वानवेब तीनवटै कम्पनीहरू हाल समान सुरक्षा जाँच र नियामकीय प्रक्रियामै रहेका छन्।
सन् २०२५ फेब्रुअरीमा वासिङ्टनमा प्रधानमन्त्री मोदी र मस्कबिच भेटवार्ता भई स्टारलिंकले प्रारम्भिक इजाजत पाए पनि अन्तिम सुरक्षा स्वीकृति र स्पेक्ट्रमसम्बन्धी प्रक्रिया बाँकी नै छ। भारतको ८० प्रतिशतभन्दा बढी दूरसञ्चार बजार ओगटेका मुकेश अम्बानीको रिलायन्स जियो र भारती एयरटेलसँगको तीव्र व्यावसायिक प्रतिस्पर्धाका साथै राष्ट्रिय सुरक्षा, विदेशी निर्भरता र तथ्यांकको सुरक्षा जस्ता संवेदनशील विषयहरूका कारण भारत सरकारले सुरक्षा जाँचलाई कडाइका साथ अघि बढाएको छ। यसबाहेक भारतमा टेस्लाको सुस्त बिक्री र सामाजिक सञ्जाल ‘एक्स’ सँग सरकारको कानुनी विवाद चलिरहेका बेला मस्कको यो नयाँ आलोचनाले भारतमा विदेशी प्रविधि कम्पनीको बजार प्रवेश र स्वदेशी प्रतिस्पर्धाबिचको सन्तुलनलाई पुन: बहसमा ल्याएको छ।