२३ असोज, २०८३ (९ अक्टोबर, २०२६)
काठमाडौँ। लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बोर्डको बैठकले कुल २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको लागत अनुमान गरिएका दुई जलविद्युत् आयोजनालाई हरियो झण्डा देखाएको हो।
बोर्डले १० अर्ब ७५ करोड चार लाख ९७ हजार रुपैयाँ लागत रहेको ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागतको ४६.७२ मेगावाट क्षमताको सानी भेरी-३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ। यसै गरी ९०० मेगावाटको अरुण-३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने र अर्को ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण कार्य परियोजना विकास सम्झौता (पीडीए) को प्रावधान बमोजिम तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले स्वीकृत परियोजनाहरूको द्रुत कार्यान्वयन र लगानीकर्तालाई दिइने सेवामा प्रभावकारिता ल्याउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गरेको छ। साथै, बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावहरू आवश्यकतानुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न निर्देशन दिइएको छ। यसबाहेक, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासलाई ध्यानमा राखी त्यस्ता परियोजनालाई प्राथमिकता दिने निर्णय गरिएको छ।
उक्त बैठकमा बोर्डका उपाध्यक्ष एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।