काभ्रेपलाञ्चोक । बनेपास्थित पुरानो तरकारी बजारमा गरिएको अनुगमनमा त्यहाँ बिक्रीका लागि राखिएका तरकारीहरूमा जीवनाशक विषादीको अवशेष सुरक्षित मात्राभन्दा कम पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको संयुक्त टोलीले मोबाइल ल्याबरेटोरी भ्यानसहित बजारमा पुगेर विषादी परीक्षण गरेको हो।
अनुगमनका क्रममा बनेपा-७ र ६ का विभिन्न पसलहरूमा पुगी ‘र्यापिड बायोएसे अफ पेस्टिसाइड रेसिड्यु (RBPR)’ विधिबाट स्थलगत जाँच गरिएको थियो। परीक्षण गरिएका सबै तरकारीहरूमा इन्जाइम इन्हिविसन रेट ३५ प्रतिशतभन्दा कम पाइएकाले ती खानेकुराहरू उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेको विभागले जनाएको छ।
यस क्रममा सिपानी तेमाल तरकारी पसलबाट टमाटर, तुने बोडी र भेंडे खुर्सानीको नमुना लिइएको थियो। त्यसैगरी लक्ष्मण दाहालको तरकारी पसलबाट काउली, भिन्डी, काँक्रा, भान्टा, परवल, रातो मुला, माछे खुर्सानी र बरेलाको परीक्षण गरिएको थियो।
यसबाहेक केशव भेजिटेबल सप्लायर्स, चण्डेश्वरी वेजिटेबल सप्लायर्स, राजन तरकारी तथा कृषि उपज सप्लायर्सबाट बन्दाकोबी, खुर्सानी र रायो सागको जाँच गरिएको थियो। साथै जे.एम.एस. फलफूल पसलबाट केरा, कुमार फ्रेस भेजिटेबल एण्ड फ्रुट सप्लायर्सबाट आलु र सिमी तथा माधव भेजिटेबल सपबाट प्याजको पातको नमुना परीक्षण गरिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार इन्जाइम इन्हिविसन रेट ३५ प्रतिशतभन्दा कम आएमा उपभोगका लागि सुरक्षित मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म आएमा ४८ देखि ७२ घण्टासम्म क्वारेन्टाइनमा राख्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा उपभोगका लागि अयोग्य मानी नष्ट नै गर्नुपर्ने मापदण्ड रहेको छ। हाल गरिएको परीक्षणमा सबै तरकारीहरूको नतिजा सुरक्षित सीमाभित्रै भेटिएको छ।