हेटौँडा, १३ असोज (रासस) : बागमती प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईले मन्त्रालयका सचिवलाई एक हप्ताभित्र सम्बन्धित मन्त्री तथा मातहतका महाशाखा, निर्देशनालय, विभागीय निकाय र कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यसम्पादन करार समारोहमा उहाँले सम्झौता सम्पन्न भएपछि त्यसको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन पनि आग्रह गर्नुभयो ।
प्रमुख सचिव भट्टराईले मुख्यमन्त्रीसँग गरिएको कार्यसम्पादन सम्झौता प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनप्रतिको प्रशासनिक प्रतिबद्धता भएको बताउनुभयो । उहाँले आकस्मिक रूपमा आइपर्न सक्ने प्रशासनिक चुनौती सामना गर्न पनि प्रदेशको प्रशासनिक नेतृत्व जिम्मेवार भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
“यो केवल कालो मसी र सेतो कागजमा गरिएको लिखित विषयवस्तु मात्रै होइन, प्रतिबद्धतासहितको साझा सङ्कल्प हो”, उहाँले भन्नुभयो, “यो नतिजातर्फ जानका लागि मार्गदर्शन गर्ने माध्यम पनि हो ।” उहाँले मन्त्रीसँग सचिवले र सचिवले मातहतका महाशाखा तथा कार्यालय प्रमुखसँग गर्ने सम्झौतालाई समयमै पूरा गरी त्यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
चालु आर्थिक वर्षको साढे दुई महिना बितिसकेको उल्लेख गर्दै प्रमुख सचिव भट्टराईले बाँकी अवधिमा प्रशासनिक संयन्त्रले कामको गति बढाउनुपर्ने बताउनुभयो । “पहिले ४० को गतिमा हिँड्ने हाम्रो सामान्य गति थियो भने अब कम्तीमा ६० को गतिमा अगाडि बढ्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।
समारोहमा मुख्यमन्त्री किरण थापामगरसँग प्रमुख सचिव भट्टराई तथा प्रदेश सरकारका मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।