चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

काठमाडौँ, १२ असोजः चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटका लागि धेरै टिकट बिक्रीजस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ ।

चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सडकमा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनुभयो । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा, साँखुलगायतका मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि विशेष अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच तथा अनुगमनलाई तीव्रता दिइने प्रवक्ता सुवेदीले बताउनुभयो । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराई नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने गरी अभियान सञ्चालन गरिने छ ।

चाडपर्वका समयमा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने भएकाले ती स्थानमा पार्किङ व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ