काठमाडौँ। सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट लट्री (गोलाप्रथा) प्रणालीमार्फत ३३ जनालाई ‘करदाता पुरस्कार’ का लागि छनोट गरेको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको नतिजाअनुसार छनोट भएकामध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले प्रतिव्यक्ति एक लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सामान्यतया पाक्षिक (हरेक १५ दिनमा) रूपमा गरिने यो लट्री भदौ १० गते रसुवामा गएको बाढीका कारण प्रभावित भएकाले भदौ महिनाको एकैपटक गरिएको हो। १० लाख रूपैयाँ पुरस्कारका लागि विजक नम्बर ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ छनोट भएका छन् भने अन्य ३१ जना उपभोक्तालाई एक लाख रूपैयाँका दरले पुरस्कार प्रदान गर्न विजक नम्बरहरू सार्वजनिक गरिएको छ।
आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक जनक पौडेलका अनुसार उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा विजक (बिल) माग्न प्रोत्साहित गर्ने, कारोबारलाई पारदर्शी बनाउने र कर छली नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। विजक नदिने व्यवसायीमाथि अनुगमन तथा कारबाही प्रक्रियालाई पनि तीव्रता दिइएको विभागले जनाएको छ।