काठमाडौँ । सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। भाद्र ३१ गते भएको उक्त आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा भौतिक क्षति पुगेको छ।
आगलागीको जानकारी पाउनासाथ प्रहरी तथा दमकलको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बिजुली सर्ट (सर्ट सर्किट) भएर आगो लागेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्।
सर्वोच्च अदालतको नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो। उक्त समयमा प्रयोगविहीन अवस्थामा रहेका पुराना कागजातहरू जलेको अदालत प्रशासनले जनाएको थियो।
भदौ १७ को घटनाको छानबिन प्रक्रिया अझै जारी रहँदै गर्दा पुनः दोहोरिएर आगलागी भएपछि अदालतको सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।
यसअघि गत वर्ष भदौ २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यसयता अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक कामकारबाहीहरू ‘एनेक्स’ भवनबाट सञ्चालन गर्दै आएको छ।