काठमाडौँ। रसुवाको भोटेकोसी बाढीपछि भदौ १४ गते नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा मुख्य सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार बिहान ट्र्याक खोल्ने तथा सडक स्तरोन्नतिको काम सकिएकाले भोलि असोज १ गतेदेखि उक्त खण्डमा सवारी साधनको आवतजावत पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
नयाँ खोलिएको करिब ३०० मिटर लामो ट्र्याकमा गत आइतबार नै परीक्षणका रूपमा केही सवारी साधन चलाइएको थियो। परीक्षण सफल भएपछि निर्माण कार्यलाई थप तीव्रता दिँदै ११औँ दिन मंगलबार ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम अन्तिम चरणमा पुर्याइएको थियो।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार नदीको गेग्रान प्रयोग गरी ग्राभेल गरिएको सो सडकमा ग्रेडर, रोलर र एक्साभेटरसहित ५ देखि १२ वटासम्म हेभी इक्युपमेन्ट र ४०–५० जना मजदुर परिचालन गरिएको थियो। नालीसहित करिब साढे सात मिटर चौडा संरचना तयार पारिएकाले अब सो सडक खण्डमा यातायात सञ्चालन सहज हुने जनाइएको छ।