काठमाडौँ। नेपाल आयल निगमको समन्वयमा खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालय परिसरबाट गरिँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। सार्वजनिक बिदाका दिनमा विशेष गरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै प्रशासनले विगत तीन दिनदेखि सोझै ग्यास वितरण गर्दै आएको थियो।
भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित सेवासँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनमा समेत जुट्नुपर्ने भएकाले परिसरभित्रको बिक्री स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिए। यद्यपि ग्यासको आपूर्ति भने रोकिएको छैन; सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत बजारमा ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।