काठमाडौँ। मर्मत कार्य सुरु गरिएको १० औँ दिनमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको पहिरोग्रस्त कृष्णभिर सडक खण्ड पुनः सञ्चालनमा आएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कृष्णभिर क्षेत्रमा तल्लो भाग कटान भई सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
भासिएको सडकभन्दा केही माथि पहाडको भित्तो काटेर नयाँ ट्र्याक निर्माण गरेपछि सडक सञ्चालनमा ल्याइएको हो। आज अपराह्न नेपाली सेनाको उपस्थितिमा ग्यास बुलेट तथा मालवाहक ट्रकहरूलाई नयाँ ट्र्याक हुँदै गन्तव्यतर्फ पठाइएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कृष्णभिर पुगेर सडकको स्थलगत अवलोकन र अनुगमन गरेको छ।
सडक विभागका अनुसार हालका लागि ग्यास बुलेट र ठुला मालवाहक सवारी साधनका लागि सडक एकतर्फी मात्र खुला गरिएको छ। आगामी बिहीबारसम्ममा सडकलाई दुवैतर्फ (द्वि-मार्गी) पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी दु्रत गतिमा काम भइरहेको विभागले जनाएको छ।