काठमाडौँ। गत भदौ १० गते तिब्बतबाट रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण पाँच जिल्लाका ७ हजार ५ सय ७० निजी भवनमा ठुलो क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ (RDNA) अनुसार क्षतिग्रस्त भवनहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
रसुवागढी नजिकैको लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरो (डेब्रिस फ्लो) भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदीसम्म फैलिँदा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठुलो तबाही मच्चाएको हो। बाढीका कारण कुल ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ मानिस विस्थापित भएका छन्। जिल्लागत आधारमा सबैभन्दा बढी क्षति नुवाकोटमा (३,९७७ भवन) भएको छ भने रसुवामा १,७७९, धादिङमा १,४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवनमा क्षति पुगेको छ। स्थानीय तहतर्फ नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ भवन क्षतिग्रस्त भएका छन्।

प्रतिवेदन अनुसार निजी भवन र घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८ करोड ४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी भएको छ। बाढीबाट पुगेको कुल भौतिक क्षति तथा आर्थिक नोक्सानी ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको रहेको र सबै क्षेत्रको समग्र पुनःस्थापना, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि कुल ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आयोग र प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।