काठमाडौँ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल साताव्यापी औपचारिक भ्रमणका क्रममा आइतबार बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। चिनियाँ पक्षको निमन्त्रणामा भदौ २८ देखि असोज ३ गते (सेप्टेम्बर १३ देखि १९) सम्म हुने भ्रमणका लागि उनी उच्चस्तरीय सैन्य टोलीसहित त्यसतर्फ लागेका हुन्।
प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने प्रतिष्ठित ‘१३औँ बेइजिङ सियाङसान फोरम’ मा सहभागी हुने जङ्गीअड्डाले जनाएको छ। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, सैन्य सहकार्य र रणनीतिक स्थिरताका विषयमा छलफल हुने उक्त सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन तथा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बेइजिङ प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जङ्गीअड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारथ (गार्ड अफ अनर) अर्पण गरेको थियो। भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसीलाई कायमुकायम प्रधानसेनापतिको कार्यभार सुम्पिइएको छ।