मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी

मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ, २८ भदौः सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताउनुभएको हो ।

मधेस प्रदेशबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँलगायत अन्य प्रदेशमा जाने गरेका छन् । यसले विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नाका साथै बसाइँ तथा अन्य व्यावहारिक समस्या सिर्जना गर्दै आएको छ ।

मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ ।

क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसकेको भए पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गर्ने सरकारको योजना छ । आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

सरकारले मधेसमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना गरेपछि यस क्षेत्रका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरेको छ । साथै, स्थानीयस्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ ।

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् । मधेस प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी