रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ कोटबाट खलङ्गातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप आइतबार बिहान दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी बेदबहादुर पौडेलका अनुसार बिहान सवा ८ बजेतिर अनियन्त्रित भई जिप सडकबाट झन्डै १०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा चालक र एक महिलाको मृत्यु भएको छ भने उनीहरूको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरी र डिएसपी पौडेलसहितको टोली दुर्घटनास्थलतर्फ गएको छ। यसअघि शनिबार बिहान पनि छिमेकी जिल्ला सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो।