काठमाडौँ। ठगी मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक तारामान गुरुङ पीडितहरूको रकम फिर्ता गरेपछि हिरासतबाट मुक्त भएका छन्। गत भदौ १८ गते पक्राउ परेका पूर्वराज्यमन्त्रीसमेत रहेका गुरुङले तीन जना पीडितलाई कुल ७१ लाख ५० हजार रुपैयाँ बुझाएपछि शुक्रबार बेलुका रिहा भएका हुन्।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार गुरुङविरुद्ध दोर्जे शेर्पा, रिगुंज्याम्पु शेर्पा र सुनुर्पु शेर्पाले ठगीको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए। गुरुङले दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुंज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ फिर्ता गरेपछि दुवै पक्षबीच सहमति भई उनलाई रिहा गरिएको हो।
राजनीतिक शक्तिको दुरुपयोग गर्दै लामो समयदेखि उन्मुक्ति पाउँदै आएका भनिएका गुरुङविरुद्ध पीडितहरूले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएको ९ दिनभित्रै रकम फिर्ता गराई न्याय दिलाइएको प्रहरीले जनाएको छ।