काठमाडौँ। १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत प्रस्थान गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसअघि नै नयाँ दिल्ली आइपुगिसकेका छन् भने राष्ट्रपति सी पनि आजै भारत पुग्दै छन्। सम्मेलनका क्रममा सन् २०१६ को गोवा ब्रिक्स सम्मेलनपछि पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन एकै मञ्चमा एकत्र हुँदै छन्।
राष्ट्रपति सीको भारत अवतरणअघि चाइना साउदर्न एयरलाइन्सले ६ वर्षदेखि ठप्प रहेको भारत-चीन सिधा उडान पुनः सुरु गर्ने घोषणा गरेको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ग्वाङ्झाउ र नयाँ दिल्लीबिचको सिधा उडान आगामी सेप्टेम्बर २१ देखि पुनः सञ्चालनमा आउनेछ। यो सेवा सुरु भएसँगै दक्षिण एसियाका आठ रुटमा कम्पनीको राउन्ड-ट्रिप उडानसहित साप्ताहिक उडान सङ्ख्या १०० भन्दा बढी पुग्ने एयरलाइन्सले जनाएको छ।
सन् २०२० को कोरोना महामारी तथा लगत्तै पूर्वी लद्दाखमा उत्पन्न सैन्य तनावका कारण दुई देशबिचको सिधा उडान स्थगन गरिएको थियो। नयाँ दिल्लीमा आजदेखि सुरु हुने ब्रिक्स शिखर सम्मेलन र उडान पुनः सञ्चालनको यो घोषणालाई भारत-चीन सम्बन्ध सामान्यीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।