काठमाडौँ। भोटेकोशी नदीको विनाशकारी बाढीपछि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि नेपाल सरकारको अनुरोधमा अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरूसहितको टोली नेपाल प्रहरीसँग मिलेर काम गर्न थालेको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार एफबीआईको टोलीले विशेष मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराउँदै नेपाली अधिकारीहरूसँगको समन्वयमा डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (DVI) प्रक्रिया अघि बढाएको हो। २०० किलोमिटरभन्दा लामो बाढी प्रभावित क्षेत्र र ठूलो सङ्ख्यामा रहेका मृतक तथा बेपत्ताहरूको पहिचान जटिल रहेकाले यो कार्य निकै सावधानीपूर्वक र व्यवस्थित ढङ्गले अघि बढाइएको छ।
अमेरिकी नागरिकसहित त्रासदीमा परेका सबैका परिवारलाई आफ्ना आफन्तबारे जानकारी दिन एफबीआईले नेपालका विभिन्न तहका निकायहरूसँग तीव्र समन्वय गरिरहेको छ। अमेरिकाले खोजी तथा उद्धारका साथै आवश्यक सबै सहायता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाउँदै बाढी प्रभावित र प्रियजन गुमाएका परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ।