सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

गोरखा, २६ भदौः आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन् ।

पछिल्लो समय यहाँका केही गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई पोखरा, चितवन र काठमाडौँमा खटाउन थालेको पाइएको छ ।

सो क्रममा बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, पोखरा, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ । आ–आफ्ना पालिकामा स्थायी बसोबास रहेको ती नागरिकलाई घरदैलोमै सेवा पु¥याउने हेतुले ती पालिकाले सहरमा शिविर नै राखेर सेवा प्रवाह गर्दै आएका हुन् ।

गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधि उपचारका लागि पोखरा, काठमाडौँ तथा चितवनजस्ता सहरमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको अजिरकोट गाउँपालिका–३ का वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार पालिकाले सहरमै पुगेर घुम्ती शिविर सञ्चालन गरेको यो दोस्रो वर्ष हो ।

“गत वर्ष चितवन र काठमाडौँमा शिविर गरेका थियौँ । यो वर्ष पोखरामा पनि शिविर राख्नुपर्ने माग आएपछि त्यहाँ पनि गर्यौं”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “गाउँपालिकाको पञ्जीकरण शाखाका दुई जना कर्मचारी र जनप्रतिनिधिसहितको टोली सहरमा गई शिविर सञ्चालन गर्दै छौँ ।”

पालिकाले भदौ २२ गते पोखरामा सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको थियो । “बुधबार र बिहीबार चितवनमा ग¥र्यौं । अब २७ र २८ गते काठमाडौँमा हुन्छ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “पोखरामा २३ जना र चितवनमा १६५ जनाले भत्ताको कार्ड नवीकरण गराएका छन् । काठमाडौँमा पनि २०० को हाराहारीमा सेवाग्राही छन् ।”

कतिपय वृद्धवृद्धा ह्वीलचियरसहित गाउँमा आउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाले सहरमै पुगेर सेवा दिएको उहाँले जानकारी दिनुभयो ।

अजिरकोट गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको साहारा खोज्दै पोखरा, काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधि उपचारका लागि सहरमा बस्दै आएको पाइएको छ । उहाँहरु गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन गएको वडाध्यक्ष अधिकारीको भनाइ छ । केही समयअघि उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाले काठमाडौँ र गोरखाबजारमा सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको थियो ।

हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको गाउँपालिकाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी