तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

कपिलवस्तु, २५ भदौः प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।

विभागका अनुसार किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्विक अवशेष भेटिएका छन् । ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि त्यस क्षेत्रका जग्गा आवश्यक परेको हो ।

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ ख र मालपारा–४ क अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ । पुरातात्विक महत्वका संरचना तथा वस्तु भेटिएका क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको उहाँले बताउनुभयो ।

जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू–स्वामी तथा सरोकारवालालाई सूचना जारी गरी अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

भगवान् गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनको २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोटलाई लिने गरिएको छ । त्यहाँ भएका उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट किल्ला परिसर बाहिरसमेत प्राचीन संरचनाका प्रमाण फेला परेकाले संरक्षणको दायरा विस्तार गर्न लागिएको हो ।

अधिकृत खनालले थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन, अनुसन्धान र संरक्षणका साथै क्षेत्रको व्यवस्थित व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्वका क्षेत्रको संरक्षण र अनुसन्धानलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी