बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण

बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौँ, २४ भदौः राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा सांसद कृष्णबहादुर रोकायले रसुवा र भोटेकोशी क्षेत्रमा गएको बाढीबाट बालबालिका, गर्भवती तथा ज्येष्ठ नागरिकलगायत अशक्त र जोखिममा रहेका समूह बढी प्रभावित भएको र उनीहरूलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो ।

यसैगरी सांसद घनश्याम रिजालले विपद्का समयमा उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको बताउनुभयो । जोखिममा रहेका हिमतालमा पूर्वसूचना प्रणाली जडान गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद पदमबहादुर परिवारले कृष्णभीरमा पहिरो गएको दुई साताभन्दा बढी समय भइसके पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको बताउनुभयो । उहाँले काठमाडौँ–नुवाकोट आवागमनलगायत सडक सम्पर्कमा देखिएका समस्याको स्थायी समाधान खोज्नुपर्ने र हवाई यातायातको भाडा महँगिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पूजा चौधरीले सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढीपीडित महिलालाई तथानाम गालीगलौज तथा दुव्र्यवहार गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले बाढीपीडितलाई छिटोभन्दा छिटो राहत वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै सहज आपूर्ति तथा वितरणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुदेवी पुडासैनीले पनि बाढीपीडितलाई अत्यावश्यक सामग्री समयमै पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

शून्य समयमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी