मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

कर्णाली, २४ भदौः कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढाएको छ । पछिल्लो समयमा समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिचान, उपचार र नियन्त्रणमा बढी जोड दिँदै आएको छ । मन्त्रालयका अनुसार त्यस समस्या ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा बढी देखिएको छ । मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा रोकथामका लागि मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामजिक रणनीति तथा कार्ययोजना २०७९–२०८७ निर्माण गरेको हो ।

चालु आव २०८३/८४ को भदौमा नै मन्त्रालयले मानसिक स्वास्थ्य सुदृढीकरण गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा जनप्रतिनिधिलाई जनचेतना गराउन थालेको छ ।

राष्ट्रिय जनगणना विसं २०७८ को अन्तिम नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । यद्यपि कुल जनसङ्ख्याको ११ प्रतिशत अर्थात् एक लाख ८५ हजार ७२५ नागरिकमा मानसिक स्वास्थ्य समस्या देखिएकाले बेलैमा रोकथाम, नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले सचेतना तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका मानसिक स्वास्थ्य सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीका करिब ३० हजार मानिसले अहिले पनि मानसिक रोगको औषधि लिइरहेका छन् । यो समस्या अझै एक लाख ५५ हजारमा देखिन्छ । समयमै पहिचान गरी समस्या वृद्धि हुन नदिन कर्णालीका दशवटै जिल्लामा मानसिक स्वास्थ्यका बारेमा शिक्षकलगायतका सरोकारवालाहरूका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम विस्तार गरेको छ ।”

प्रदेश सरकारले यहाँका करिब छ सय स्वास्थ्यर्मीलाई कन्भर्जन डिसअर्डरसम्बन्धी तालिम दिइसकेको छ । प्रदेश सरकारले अहिले सुर्खेत पश्चिमका अति दुर्गम मानिने चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थीलगायतलाई मानसिक स्वास्थ्य, यसको बढ्दो प्रभाव, चुनौती, समस्या र रोकथामका बारेमा सचेतना तथा अभिमुखीकरण गराएको छ ।
दुवै पालिकामा प्रदेश सरकारले दुई दिन सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी सरोकारवालाले गरिबी, अशिक्षा, बेरोजगार, रुढीवादी संस्कार, परम्परागत मान्यता, वैदेशिक रोजगार, बढ्दो सहरीकरण, आधुनिक जीवनशैली र सामाजिक सञ्जालको चरम दुरुपयोगका कारण समाजमा मानसिक रोग बढिरहेको गएको निष्कर्ष सुनाएका थिए ।

सामाजिक सञ्जालबाट ठगिने, लुटिने, हिंसा व्यहोर्ने कारणबाट पनि मानसिक रोग बढ्ने अवस्था सृजना भइरहेको नवज्योति मावि चौकुनेका प्रधानाध्यापक भानुभक्त घिमिरेले बताउनुभयो ।

उक्त विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सृष्टि देवकोटाले परिवार र विद्यालय दुवैले विशेषगरी बालिकाका समस्यालाई गहिरो तरिकाले बुझ्ने चेष्टा नराख्दा पछिल्लो समयमा बालिका चिन्ता, तनाव र निराशा बढिरहेको प्रतिक्रिया दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउन राष्ट्रियस्तरमा विभिन्न रणनीति तथा नीति अवलम्बन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयको चापका कारण आज हरेक व्यक्ति मानसिक रोगी भएको छ । स्वस्थ्य मन भएमात्र सफल काम र स्वस्थ समाज निर्माण हुनसक्छ । तसर्थ, समाजमा खुलेर कुरा गरौँ, दृष्टिकोण बदलौँ, पूर्वाग्रह त्यागौँ, आशा जगाऔँ, जीवन बचाऔँ, आत्महत्या प्रयास गरेका व्यक्तिप्रति समानुभूतिपूर्वक व्यवहार गरौँ, बाँच्न उत्प्रेरित गरौँ र मानसिक स्वास्थ्य समस्या रोक्न खुलेर संवाद गरौँ । यसमा सरकार गम्भीर भएर लागेको छ ।”

मानसिक स्वास्थ्यमा आएको समस्याका कारण मानिस मानिसक रूपमा विचलन भएको वा आत्महत्याको बाटो रोजेको पाइएको छ । मन्त्रालयका अधिकृत महेश शर्माले कर्णाली प्रदेशमा आव २०८२÷८३ मा आत्महत्या गर्नेको सङ्ख्या ३०५ रहेको बताउनुभयो ।

त्यसमध्ये १४९ पुरुष, ८१ महिला, ३३ बालक र ४२ बालिका रहेका छन् । यसमा सबैभन्दा बढी झुन्डिएर १३५ पुरुष, ६८ महिला, ३० बालक र ४२ बालिकाले आत्महत्या गरेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो । आत्महत्याका घटना खासगरी आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक कारणले हुने गरेको पाइएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले समाजमा हुने सबै खाले विभेद, दुव्र्यवहार, गलत प्रचलन तथा संस्कारको अभ्यासका कारण मान्छेमा बैराग्यता, निराशा, डर, तनाव, चिन्ता पैदा हुँदा व्यक्तिको मानसिक स्वास्थ्यमा समस्या देखिने गरेको बताउनुभयो ।

पछिल्ला वर्षमा मानसिक रोगका कारण आत्महत्याका घटना बढ्दै गएकाले त्यसको रोकथाममा सरकारले बलैमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्गबहादुर विकले मानसिक स्वास्थ्य समस्या स्वस्थ, शान्त र समृद्ध समाज निर्माणको डरलाग्दो चुनौती भएकाले समाजमा भित्रभित्रै सल्किदै गएको बताउनुभयो । अध्यक्ष विकले मानसिक स्वास्थ्य समस्याको रोकथाम तथा न्यूनीकरणमा तीनै तहको साझा पहल र प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका मनोविद् अधिकृत लक्ष्मीमाया तामाङले बदलिँदो जीवन परिवेश, शैली र त्यसप्रति मान्छेको वेवास्तग्रहीपनले मानसिक रोगको समस्या बढ्न थालेको तर्क गर्नुभयो ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले विशेषगरी बालिका महिनावारी हुँदाको समस्या परिवार र विद्यालय दुवैले राम्रोसँग नबुझ्दा, दुव्र्यवहार एवं विभिन्न खाले हिंसा तथा तनाव भोग्नुपर्ने बाध्यताले पनि त्यसलाई प्रभाव पारिरहेको बताउनुभयो ।

पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले मानसिक स्वास्थ्यका विषयमा समयमै सचेतना दिलाउन पालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउनुभयो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी