काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूत (Chargé d’Affaires) को जिम्मेवारी सम्हाल्न मेगन बोल्डिन काठमाडौँ आइपुगेकी छन्। आगामी केही महिना उनले कार्यवाहक अमेरिकी राजदूतका रूपमा कूटनीतिक कमान्ड सम्हाल्ने नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ।
नेपालमा भोटेकोशी-त्रिशूली बाढीका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा काठमाडौँ ओर्लिएकी बोल्डिनले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोज, उद्धार तथा मद्दतमा विशेष ध्यान दिनेछिन्। साथै, उनले नियोग उपप्रमुख (DCM) स्कट अर्बम र नेपाली अधिकारीहरूसँगको सहकार्यमा विपद् प्रतिकार्य, राहत तथा पुनर्लाभका कार्यहरूमा अमेरिकी सहयोगको नेतृत्व गर्ने दूतावासले जनाएको छ।
मेगन बोल्डिन ढाकास्थित अमेरिकी दूतावासबाट काठमाडौँ आएकी हुन्, जहाँ उनी सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत छिन्। अमेरिकी वरिष्ठ परराष्ट्र सेवाकी अनुभवी कूटनीतिज्ञ बोल्डिनसँग युक्रेन, इराक, बङ्गलादेश तथा वासिङ्टनस्थित ‘अपरेसन्स सेन्टर’ लगायतका संवेदनशील र जोखिमपूर्ण क्षेत्रहरूमा संकट व्यवस्थापन (Crisis Management), कूटनीति र नेतृत्व सम्हालेको उच्च अनुभव रहेको छ।