‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग

‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

कपिलवस्तु, २३ भदौः नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन् । कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ ।

कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ । मायादेवी गाउँपालिका–२ अभिरावका नेतराम नटुवाले पटकपटक काठमाडौँ पुगेर सम्बन्धित निकायमा माग राखे पनि सुनुवाइ नभएको बताउनुभयो ।

“लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो तर राज्यले अझै हाम्रो माग सुनेको छैन,” उहाँले भन्नुभयो । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा करिब १४ घरमा दुई सयभन्दा बढी नटुवा बसोबास गर्दै आएका छन् ।

सुकुमबासी बस्तीमा बस्दै आएका उनीहरूसँग नेपाली नागरिकताको प्रमाणपत्रबाहेक अन्य आधारभूत सुविधा तथा सम्पत्तिको अभाव रहेको बताइन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र स्थायी बसोबासको समस्यासँगै दैनिक गुजारा चलाउनसमेत कठिनाइ भइरहेको उनीहरू बताउँछन् ।

शुद्धोधन गाउँपालिका–१, प्रगतिनगरका महेन्द्र नेटुवाले आफूहरूभन्दा माथिल्लो जातिका रूपमा रहेको पत्थरकट्टा समुदायले राज्यबाट सुविधा पाए पनि नटुवा समुदाय बेवास्तामा परेको गुनासो गर्नुभयो ।

स्थानीय लक्ष्मी नटुवाका अनुसार पत्थरकट्टा समुदायलाई लोपोन्मुख जातिको सूचीमा समावेश गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइए पनि नटुवा समुदाय त्यस्तो सुविधाबाट वञ्चित छ ।

“हामीलाई दलितभन्दा तल्लो जातिका रूपमा विभेद गरिँदै आएको छ । हाम्रो जनसङ्ख्या पनि निकै कम छ, राज्यले हाम्रो समस्यालाई सम्बोधन गरेको छैन,” उहाँले गुनासो गर्नुभयो ।

उनीहरु सरकारी सुविधा माग गर्दै विभिन्न निकायमा पुगे पनि माग सम्बोधन नभएको बताउँछन् । वर्षौंदेखि राजनीतिक दलका उम्मेदवारलाई मतदान गर्दै आए पनि निर्वाचित भएपछि आफूहरूको समस्या बुझ्न कोही नआएको उहाँले बताउनुभयो ।

स्थानीय पण्डित नटुवाले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित मन्त्रालयमा पटकपटक ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै उपलब्धि नभएको बताउनुभयो ।

“हामी पनि यही देशका नागरिक हौँ, नागरिकताबाहेक हामीसँग केही छैन,” उहाँले भन्नुभयो । नेपाली नागरिक भए पनि आफूहरूलाई भारतीय नागरिक भनेर विभेद गर्ने गरेको गुनासो गर्नुभयो । समुदायका अनुसार हाल अल्पसङ्ख्यक तथा लोपोन्मुख जातिका रूपमा सूचीकृत पत्थरकट्टा समुदायका व्यक्तिले मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । तर नटुवा समुदाय त्यस्तो सुविधाबाट वञ्चित रहेको उनीहरूको भनाइ छ ।

परम्परागत रूपमा सर्प समात्ने तथा उद्धार गर्ने काममा संलग्न नटुवा समुदाय पछिल्लो समय जीविकोपार्जनका लागि भिक्षा मागेर खान थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित हुँदा समुदायको दैनिकी कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ ।

नटुवा समुदायको परम्परागत सीपलाई व्यवसायीकरण गर्न कपिलवस्तुमा सर्प उद्धारसम्बन्धी सीप विकास तथा स्थानीय ब्यान्डबाजा बजाउने तालिमसमेत सञ्चालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी