काठमाडौँ। भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरको सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अष्ट्रेलियाली भूगर्भशास्त्री तथा सुरुङ उद्धार विज्ञ इन्जिनियर अर्नोल्ड डिक्स यतिबेला नेपालमा जारी भोटेकोसी बाढीपछिको जटिल उद्धार प्रयासमा अग्रपंक्तिमा खटिएका छन्। नेपालमा भइरहेको खोजी तथा उद्धार कार्यलाई आफूले जीवनमै यसअघि कहिल्यै सामना नगरेको भयानक र जटिल अवस्थाका रूपमा चित्रण गर्दै उनले फरक-फरक स्थानमा एकैपटक जोखिमपूर्ण उद्धार प्रयासहरू भइरहेको बताएका छन्।
नेपाली उद्धार टोलीसँगै कार्यक्षेत्रमा खटिएका इन्जिनियर डिक्सले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै नेपालमा धेरै स्थानमा एकैपटक बहुआयामिक उद्धार गर्नुपर्ने चुनौती रहे पनि मानव जीवन बचाउने सम्भावना अझै जीवितै रहेको उल्लेख गरेका छन्। उनले भारतको सिल्क्यारा सुरुङ दुर्घटना स्मरण गर्दै ‘असम्भवजस्तो देखिनु’ र ‘असम्भव हुनु’ दुई फरक कुरा भएको बताएका छन्।
नेपालको संकटबारे आफ्नो धारणा राख्दै इन्जिनियर डिक्सले भनेका छन्, *”नेपालमा हामी यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ। यो एउटा उद्धारको कुरा मात्र होइन, एकैपटक फरक-फरक ठाउँमा भइरहेका अनेकौँ उद्धार प्रयासको सङ्ग्रह हो। नेपालले मलाई ठूलो पाठ सिकाइरहेको छ— जब धेरै मानिसको जीवन हाम्रा प्रयासमा निर्भर हुन्छ, आशालाई अनुशासनमा र करुणालाई कर्ममा बदल्नुपर्छ। कर्तव्य कहिल्यै सफल हुने निश्चिततामा मात्र निर्भर हुँदैन।”*
उनले पश्चिमा परम्पराको ‘कर्तव्य’ (Duty) र पूर्वीय दर्शनको ‘धर्म’ को प्रसङ्ग जोड्दै परिणाम जे सुकै भए पनि सही बाटोमा निरन्तर लागिरहनु उद्धारकर्ताहरूको दायित्व भएको बताएका छन्। हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र नभई अन्तिम सासम्म हार नमान्ने प्रयासले नै मानवीय उद्धारको वास्तविक मूल्याङ्कन हुने उनको भनाइ छ।