काठमाडौँ। भोटेकोसी-त्रिशूली विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३ ५६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म भेटिएका शवमध्ये ९८ जनाको मात्रै पहिचान (सनाखत) भई परिवारलाई हस्तान्तरण गरिएको छ। अधिकांश शवहरू क्षतविक्षत अवस्थामा रहेकाले सनाखत हुन सकेको छैन।
बाढीले बगाएर ल्याएका शवहरू रसुवादेखि तल्लो तटीय क्षेत्रसम्म फेला परिरहेका छन्। प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी चितवनमा ३६३ जनाको शव फेला परेको छ। यसैगरी नुवाकोटमा १९७, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव भेटिएका छन्।
यसैबिच बाढीमा परी अझै ४ हजार ९९४ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार सबैभन्दा बढी नुवाकोटबाट मात्रै २ हजार ३४० जना बेपत्ता छन्। सम्पर्कविहीन हुनेहरूमा ५८७ जना विदेशी नागरिक र १०० जना सुरक्षाकर्मीसमेत रहेका छन्।
रसुवा र आसपासका क्षेत्रमा रहेका माथिल्लो त्रिशूली-१ र माथिल्लो त्रिशूली-३ ‘बी’ लगायतका जलविद्युत् आयोजनाहरूमा फसेका तथा हराइरहेका कर्मचारी एवम् मजदुरहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरीका साथै विदेशी विशेषज्ञ उद्धार टोलीहरू निरन्तर खटिरहेका छन्।