काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पु¥याउने अभिव्यक्तिसहितको भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका अनुसार भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षती सम्वन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा जनधनको क्षतिप्रति खुशी व्यक्त गर्ने खालको भिडियो बनाएर फेसबुक रिलमा प्रसारण गरिएको थियो।
उक्त घटनाबारे साइबर ब्यूरोले गरेको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भएका तथा हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
ब्यूरोबाट खटिएको टोलीले मडैलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीले सामाजिक सद्भाव, जातीय सहिष्णुता र विपत्तिमा मानवीय संवेदनशीलतामा आघात पुग्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह गरेको छ।