काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य स्थलमार्ग पृथ्वी राजमार्ग विगत ८ दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। प्रमुख राजमार्ग नै ठप्प भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको आपूर्तिमा गम्भीर असर परेको छ।
सडक अवरुद्ध हुँदा उपत्यकातर्फ आउँदै गरेका एलपीजी ग्यासका बुलेट, इन्धनका ट्याङ्कर र खाद्यान्न बोकेका गाडीहरू धादिङ र चितवनका विभिन्न सडकखण्डमा अलपत्र परेका छन्। काठमाडौँ र आसपासका क्षेत्रमा रिफिल हुने बुलेट समयमै आइपुग्न नसकेपछि पहिलेदेखि नै चुलिएको ग्यासको अभाव झनै भयानक बनेको छ।
अभाव चुलिएपछि काठमाडौँका विभिन्न स्थानका ग्यास डिपो तथा बिक्री केन्द्रहरूमा उपभोक्ताको अनियन्त्रित भीड लाग्न थालेको छ। नयाँसडकस्थित धर्मपथ क्षेत्रसहित उपत्यकाका मुख्य चोकहरूमा ग्यास सिलिन्डर बोकेर बिहानैदेखि लाइनमा बस्ने सर्वसाधारणको सास्ती बढेको छ। दुई महिनादेखि सामान्य अभाव रहँदै आएकामा राजमार्ग बन्द भएपछि कतिपय उपभोक्ता त मध्यरातमै सिलिन्डर बोकेर लाइन लाग्न पुग्ने गरेका छन्।
काठमाडौँ उपत्यकामा ग्यासको माग र मूल्य दुवै बढेको छ, तर उपभोक्ताले तोकिएभन्दा बढी मूल्य तिर्न तयार हुँदासमेत सहजै ग्यास पाउन सकेका छैनन्। सरकारले ग्यास आपूर्ति र बजार अनुगमनलाई गम्भीरताका साथ नलिँदा जनजीवन थप असहज बनेको सर्वसाधारणको गुनासो छ।
यता, सडक विभाग र नेपाली सेनासहितको टोलीले कृष्णभीरको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास निरन्तर जारी राखेका छन्। तर, पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ। सडक तत्काल नखुलिए काठमाडौँ उपत्यकामा इन्धन र खाद्यान्नको सङ्कट थप चुलिने जोखिम बढेको छ।