देवीघाटमा सेनाले थाल्यो ‘एक्रो ब्रिज’ निर्माण

देवीघाटमा सेनाले थाल्यो ‘एक्रो ब्रिज’ निर्माण

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ। भदौ १० गतेको भोटेकोसी बाढीले तादी नदीको पक्की पुल बगाएपछि टुटेको सडक सम्पर्क पुनः जोड्न नुवाकोटको देवीघाटमा नेपाली सेनाले फलामे ‘एक्रो ब्रिज’ (Acrow Bridge) निर्माण अघि बढाएको छ। विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा इन्जिनियर र सेनाका फौजसहित ५५ जनाको प्राविधिक टोली चौबिसै घण्टा खटिएर शनिबारदेखि पुल निर्माण सुरु गरेको हो।

नेपाली सेनाको श्री १४ नम्बर वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको ५७.५ मिटर लामो र ५.५ मिटर चौडा यो पुल आगामी पाँच दिनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। बाढीले देवीघाटका दुई पक्की पुलमा क्षति पुर्‍याएपछि नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँगको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। धादिङको गल्छी हुँदै नुवाकोटको सदरमुकाम विदुरसँग सडक सम्पर्क पुनः कायम गराउन पहिलो प्राथमिकताका साथ देवीघाटमा यो पुल निर्माण थालिएको हो।

अमेरिकी प्रविधिको यो एक्रो ब्रिज साधारण बेलीब्रिजभन्दा निकै आधुनिक, फराकिलो र कम्तीमा तीन गुणा बढी बलियो हुने निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिए। उच्च गुणस्तरको ग्याल्भानाइज्ड स्टिल र बलिया स्टिलका डेक प्रयोग गरिने भएकाले यो पुलले ७० टनसम्मको भारवहन क्षमता थाम्नेछ। गजुरीस्थित भैरव गणमा मौजुदा रहेका ७५ मिटरसम्मका तीन थान पुलमध्ये पहिलो देवीघाटमा प्रयोग गरिएको हो। देवीघाटमा काम सकिएलगत्तै वेत्रावतीमा अर्को एक्रो ब्रिज जडान गरी नुवाकोट र रसुवाबीचको सीधा यातायात सञ्चालनमा ल्याइने योजना छ। निर्माण सामग्री गजुरीबाट काठमाडौँ हुँदै घुमाउरो बाटोबाट ल्याउनुपरेकाले ढुवानीमा केही चुनौती देखिए पनि कार्यस्थलमा अवरोध नभए तोकिएकै समयभित्र निर्माण सम्पन्न गरी यातायात सुचारु गरिने सेनाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी