काठमाडौँ। भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर शुक्रबार जीवितै उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन पावरहाउस तथा सुरुङभित्र ४० देखि ४५ जनासम्म रहेको खुलासा गरेका छन्।
उद्धारलगत्तै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको समयमा आयोजना स्थलमा उल्लेख्य सङ्ख्यामा कामदारहरू रहेको बताएका हुन्।
“म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू बेला ५-६ जना मात्र हुन्थ्यौँ, तर बाढी आएको दिन ४०-४५ जना नै थियौँ,” साहले भने, “कन्ट्रोल रुममा भएकाले सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। ठूलो दुर्घटना भएको थाहा पाउनेबित्तिकै मैले सबैलाई भाग्न भनेँ। सबैलाई बचाउने क्रममा मेरो समय गयो र अन्तिममा म आफैँ निस्किन पाइनँ।”
उहाँका अनुसार टनेल लामो भएकाले र पानीको तीव्र बहाव (फोर्स) का कारण धेरै मानिसहरू बाहिर भाग्न नसकी पावरहाउस र सुरुङभित्रै फसेको हुनसक्ने आशङ्का छ।
भदौ १० गतेको भीषण बाढीपछि सुरुङभित्रै थुनिएका साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको थियो। साहको यो भनाइपछि सुरुङभित्र फसेका अन्य कामदार तथा कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ।