विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

काठमाडौँ, १९ भदौः बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुनःस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो ।

बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले त्यहाँका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको उक्त पत्र हस्तान्तरण गर्दै सोबारे जानकारी गराउनुभएको हो । यसअघि, सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढी विपद्प्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

आकस्मिक बाढीपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाउनुभएको सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै पीडितप्रति समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको थियो । त्यस्तै राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत समवेदना प्रकट गर्नुभएको थियो ।

बाढीको विपद्प्रति बङ्गलादेशको संसद्ले २७ अगस्टमा बसेको बैठकमा शोक प्रस्ताव पारित गर्दै बाढी पीडित तथा बेपत्ता भएका व्यक्तिहरूप्रति दुःख र सहानुभूति व्यक्त गरेको थियो । दिवङ्गत आत्माहरूको चिरशान्तिका लागि एक मिनेट मौनधारण गरी प्रार्थना पनि गरिएको थियो । संसद्ले विपद्को प्रतिक्रियास्वरूप नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बङ्गलादेश सरकारलाई आग्रहसमेत गरेको थियो ।

साथै बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानले सो सम्बन्धमा २७ अगस्टमा आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्नुभएको थियो । उक्त वार्ताका क्रममा उहाँले आवश्यकताअनुसार नेपाललाई सम्भव सबै प्रकारको सहयोग गर्न बङ्गलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहयोग विस्तार गर्ने तरिकाबारे छलफल गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी