बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, १६ भदौः प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण तथा अन्य सहयोगका नाममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा बालबालिकाको असहाय अवस्था देखिने तथा व्यक्तिगत पहिचान खुल्ने किसिमका तस्बिर र श्रव्यदृश्य सामग्री सम्प्रेषण तथा प्रविष्ट भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता सामग्री प्रेस काउन्सिल नेपालद्वारा जारी ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ विपरीत हुने काउन्सिलले स्पष्ट गरेको छ ।

निर्देशिकाले प्राकृतिक विपद् तथा दुर्घटनासम्बन्धी तस्बिर र दृश्यले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्ने भएकाले विशेष सजगता अपनाउनुपर्ने व्यवस्था गरेको छ । पीडित बालबालिकाको अवस्था प्रस्तुत गर्दा त्यसबाट उनीहरूको मनोविज्ञानमा पर्न सक्ने दीर्घकालीन असरलाई समेत ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, राहत तथा उद्धारका नाममा बालबालिकाको असहाय अवस्था प्रदर्शन गरेर उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउन नहुने काउन्सिलले जनाएको छ । बालबालिकालाई तत्कालीन वा दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गरी उनीहरूको पहिचान सार्वजनिक गर्नसमेत नहुने निर्देशिकामा व्यवस्था छ । बालबालिकाको व्यक्तिगत पहिचान खुल्ने गरी तस्बिर वा श्रव्यदृश्य सामग्री सम्प्रेषण गर्दा उनीहरू जोखिममा पर्न सक्ने भएकाले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशिकाले सचेत गराएको छ ।

प्रेस काउन्सिलले विपद्बाट पीडित तथा प्रभावित बालबालिकामा मनोवैज्ञानिक असर पार्ने, आत्मसम्मानमा ठेस पुर्‍याउने तथा उनीहरूको गोपनीयता र मर्यादामा प्रतिकूल असर पार्ने किसिमका भिडियो तथा तस्बिर सम्प्रेषण नगर्न वा नगराउन आमसञ्चार माध्यम, पत्रकार तथा सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । काउन्सिलद्वारा जारी विज्ञप्तिमा बालबालिकाको हित, सुरक्षा, गोपनीयता र सम्मानलाई प्राथमिकतामा राखेर सञ्चार सामग्री सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी