काठमाडौँ। भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ६ हजारभन्दा बढी निजी घरहरू बगेको प्रारम्भिक अनुमान सरकारले सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले मङ्गलबार पूर्वाधार विकास मन्त्रालय मातहतका निकायहरूसँग आयोजित पत्रकार छलफलका क्रममा सो जानकारी गराएको हो।
विभागका अनुसार निजी आवास क्षेत्रतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ। बाढीका कारण ४५ वटा सरकारी तथा सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ। यो प्रारम्भिक विवरण भएकाले अध्ययन पूरा हुँदा क्षतिको वास्तविक सङ्ख्या र तथ्याङ्क अझै तलमाथि हुन सक्ने विभागले स्पष्ट पारेको छ।
बाढीबाट विस्थापित भएका नागरिकहरूलाई तत्काल सुरक्षित छाना मुनि ल्याउन कम्तीमा ६ हजार अस्थायी आवास निर्माण गर्नुपर्ने स्थिति छ। त्यसका लागि तत्कालै करिब ९० करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक आकलन शहरी विकास तथा भवन निर्माण विभागले गरेको छ।