काठमाडौँ। रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका र पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक डिएनए (DNA) परीक्षणका लागि चीनले नेपाललाई सहयोग गर्ने भएको छ। चीनले डिएनए पहिचान विशेषज्ञहरूसहित अत्याधुनिक उपकरणहरू नेपाल पठाउने तयारी गरेको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मङ्गलबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा उक्त जानकारी दिएका हुन्। विज्ञ टोलीसँगै चीनले डिएनए परीक्षणका लागि आवश्यक उपकरणहरू, खोजी तथा उद्धारका लागि ड्रोन र बाढी प्रभावित क्षेत्रमा प्रयोग हुने जलशुद्धीकरण उपकरणहरूसमेत सहयोग स्वरूप पठाउन लागेको उनले बताएका छन्।
बाढीमा परी लामो समयसम्म नदीमा डुबेका कारण अधिकांश शवहरू चिन्नै नसकिने अवस्थामा भेटिएकाले नेपालमा तिनको पहिचान गर्न ठूलो सकस परिरहेको छ। यस्तो स्थितिमा डिएनए परीक्षण नै पहिचानको मुख्य र अन्तिम विकल्प बनिरहेका बेला चीनबाट प्राप्त हुन लागेको यो प्राविधिक सहयोगलाई निकै महत्त्वपूर्ण मानिएको छ।
गत भदौ १० गतेको विनाशकारी बाढीपछि मङ्गलबारसम्म कुल १,००० वटा शव संकलन भइसकेको छ भने मङ्गलबार बिहानसम्म ३ हजार ९ सय १६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।