रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

म्याग्दी, १६ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गर्नुभएको हो । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् ।

“म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भन्नुभयो, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताउनुभयो । उहाँका अनुसार चौँरीपालनमा तीन जनाको रु ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आउनुभएको छ । धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी हुनुहुन्छ । उहाँहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिनुभएको छ । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो ।

डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हँुदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ