स्याफ्रुबेसी (रसुवा) — रसुवाको १२ घुम्तीका फुर्वा सिंगी तामाङ यतिबेला गहिरो शोक र पर्खाइमा छन्। भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीपछि उनका २५ वर्षीय छोरा पेम्बा दोर्जे तामाङ सम्पर्कविहीन भएका छन्। घटना भएको ६ दिन बितिसक्दा पनि छोराको कुनै पत्तो नपाउँदा परिवारको स्थिति दर्दनाक बनेको छ।
पेम्बा फुर्वाका एकमात्र सन्तान हुन्। रसुवागढीमा गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका उनी बाढीमा बगे वा कतै सुरक्षित छन्, अझै स्पष्ट हुन सकेको छैन। २०७२ को भूकम्पमा पुर्ख्यौली घर भत्किएपछि सानो भार्खुबाट १२ घुम्तीमा सरेको फुर्वाको परिवार अरूकै जग्गामा टहरो बनाएर बस्दै आएको थियो। कमजोर आर्थिक अवस्थाका बीच छोराको कमाइ नै बुढेसकालको मुख्य सहारा थियो।
छोरा बेपत्ता भएपछि फुर्वाको परिवारमाथि थप संकट बज्रिएको छ। वैदेशिक रोजगारीका क्रममा डेढ वर्षदेखि साइप्रसमा रहेकी पेम्बाकी श्रीमती घट्नाको खबर पाएपछि नेपाल फर्किंदै छिन्। तर, घर फर्किँदै गरेकी बुहारीलाई छोराबारे के जवाफ दिने भन्ने चिन्ताले फुर्वालाई पिरोलेको छ। यसबाहेक ५ वर्षीया नातिनीको पालनपोषण र शिक्षाको जिम्मेवारी पनि वृद्ध बाआमाको काँधमा आइपरेको छ।
बाढीमा फुर्वाका भाइका छोराहरू र साली पनि बेपत्ता छन्। स्याफ्रुबेसी जाने बाटो तथा वातावरण सहज नभएकाले फुर्वा आफैँ खोजीमा जुट्न सकेका छैनन्। आकाशमा उद्धारका लागि हेलिकप्टर उडिरहेको देखिए पनि ६ दिनसम्म कुनै सरकारी प्रतिनिधि आफ्नो स्थिति बुझ्न र छोराको खोजीबारे जानकारी दिन नआएको उनीहरूको गुनासो छ।
यतिबेला राहत र क्षतिपूर्तिभन्दा पनि छोराको सही अवस्था थाहा पाउनु फुर्वाको पहिलो प्राथमिकता बनेको छ। छोरा जीवितै फर्किने आशा पूर्ण रूपमा नमारेका फुर्वा अहिले ईश्वरको प्रार्थना गर्दै छोराको खबरको पर्खाइमा दिन बिताइरहेका छन्।