नेपाली सेना तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोली बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धारमा निरन्तर खटिए पनि सोमबारसम्म ठूलो उपलब्धि हासिल हुन सकेको छैन। सेनाले सोमबार साँझ ७ बजेसम्म विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा भएको खोजी तथा उद्धारको प्रगतिबारे विस्तृत जानकारी दिएको छ।
त्रिशूली ३ ‘ए’ आयोजनामा सुरुङको मुख्य भाग (टनेल हेड) फेला पारी कम्प्रेसरमार्फत भित्र हावा पठाउने र जमेको पानी निकाल्ने काम भइरहेको छ भने तीनवटा एक्साभेटर प्रयोग गरेर पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। त्यसैगरी त्रिशूली ३ ‘बी’ मा पनि विज्ञसहितको सैनिक टोली एक्साभेटर प्रयोग गरी उद्धार कार्यमा जुटिरहेको छ। चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोली सुरुङको ३५ मिटर भित्रसम्म पुगेर अगाडिको अवरोध हटाउने कार्यमा सक्रिय छ। अपर त्रिशूली–१ आयोजनामा संयुक्त टोलीले मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेर खोजी कार्य अघि बढाएको छ। रसुवागढी हाइड्रोको सुरुङभित्र करिब २५० मिटरसम्म पुगेर बन्द भएको भाग फेला पारिएको छ भने लाङटाङ हाइड्रोको सुरुङभित्र ६५ मिटरसम्म पुगेको टोलीले एक जनाको शव बाहिर निकालेको छ।
सुरुङ केन्द्रित अभियानका साथसाथै सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा र बस्तीहरूमा पैदल गस्ती गर्दै अवस्था बुझ्ने र उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिएको छ। सोमबार एक जना जर्मन नागरिकसहित १०९ जनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। हाल रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा ८ हजार ९ सयभन्दा बढी सैनिक फौज अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी घाइतेको उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारमा अहोरात्र खटिएका छन्।