रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको भन्दै नेपाली सेना नेतृत्वको उद्धार टोली फर्किएपछि जलविद्युत् प्राविधिकहरूले तीव्र असन्तुष्टि र प्रश्न व्यक्त गरेका छन्। सोमबार पर्याप्त स्रोत साधनबिनै सुरुङभित्र प्रवेश गरेको उद्धार टोली माटोको थुप्रो धेरै भएर अघि बढ्न नसकेपछि धुन्चे फर्किएको थियो।
प्रधानमन्त्रीको कार्यालयले भने सुरुङको अन्तिम विन्दूसम्म खोजी गर्दा कुनै पनि मानिस फेला नपरेकाले टोली फर्किएको दाबी गरेको छ। तर आयोजनाका प्राविधिकहरूले उद्धार टोली पावरहाउसमै नपुगी फर्किएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
प्राविधिकहरूका अनुसार सञ्चालनमा रहेको १११ मेगावाटको यस आयोजनाको मुख्य प्रवेश सुरुङबाट करिब ३०० मिटर भित्र रहेको पावरहाउसको कन्ट्रोल रुममा बाढी आउँदा पाल्पाका किशोर न्यौपाने, प्युठानका सन्तोष पौडेल र रसुवाका छिरिङ तामाङ काम गरिरहेका थिए। विद्युत् उत्पादन भइरहेका बेला पावरहाउसमा रहेका कर्मचारी बाहिर भाग्न सक्ने अवस्था नरहने भएकाले उद्धारकर्ताले गम्भीर ढङ्गले खोजी नगरेको उनीहरूको आरोप छ।
भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि रसुवागढी आयोजनाबाट कुल ९३ जना सम्पर्कविहीन छन्। जसमा ४९ जना आयोजनाका स्थायी कर्मचारी, ३५ जना शेर्पा हाइड्रो कन्स्ट्रक्सनका श्रमिक, ३ जना भनस कन्स्ट्रक्सनका, ४ जना सिडब्लूईका र २ जना ज्यालादारी कर्मचारी रहेका छन्।
प्राविधिक तथा रसुवागढी हाइड्रोपावर कम्पनीले दक्ष जनशक्ति र पर्याप्त आधुनिक उपकरण प्रयोग गरेर गम्भीर रूपमा खोजतलास गरेमा हराइरहेकाहरूको अवस्था पत्ता लाग्न सक्ने भन्दै विद्युत् प्राधिकरणमार्फत माथिल्लो निकायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।