भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र

भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ ।

नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।

विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ । त्यसक्रममा सुरुङभित्रको भाग हिलो माटोले पुरिएको पाइएको र त्यहाँबाट दुई वटा शव सङ्कलन गरिएको सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–१ मा टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव सङ्कलन गरिएको छ । यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘ए’ मा आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो । त्यहाँ दुई वटा एक्स्काभेटरमार्फत १० मिटर मुनि प्वाल बनाउने, सुरुङभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने काम जारी छ ।

बाढीबाट प्रभावित क्षेत्रका जङ्ल, डाँडा, खोला र वस्ती इलाकामा उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्ती जारी रहेको निर्देशनालयले जनाएको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसी इलाकामा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो इलाकामा निरीक्षण गरिएको छ । रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्रमा हालसम्म दुई हजार ६३२ ले स्वास्थ्य सेवा लिएका छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी फौज परिचालित भएका छन् ।

सुरक्षा फौजले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन एवम् आपतकालीन उपचारलाई जारी राखेका छन् । हालसम्म करिब २३ हजार १९४ किलो राहत सामग्री धुन्चेलगायत प्रभावित इलाकामा हेलिकप्टरबाट ढुवानी गरिएको सेनाले जनाएको छ ।

यही भदौ १० देखि आजसम्म सेनाले ३३८ विदेशीसहित कुल तीन हजार ५९६ जनाको उद्धार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी