भदौ १० गते रसुवाको टिमुरेमा आएको विनाशकारी बाढी र पहिरोले आँखैअगाडि घर-टहरो सखाप पारेपछि अर्घाखाँचीका लोकबहादुर र गीता उचा मगर दम्पतीले आफ्नी ५ वर्षीया कान्छी छोरी मनिषा जीवितै भेटिने आस मारिसकेका थिए। तीन दिनसम्म घाइतेहरू र शवहरू खोज्दै त्रिशूलीका अस्पताल र ब्यारेकसम्म भौँतारिएका उनीहरू छोरीको कुनै चिनो समेत नभेटिएपछि निराश बनेका थिए। अब जीवित त के, शव पनि पाइँदैन भन्दै मन बुझाएर उनीहरू काठमाडौँ हुँदै पुरानो थातथलो अर्घाखाँची फर्कने तयारीमा लागिसकेका थिए।
तर, ६० घण्टापछि प्रकृति र उद्धार टोलीको लगनशीलताले एउटा अकल्पनीय ‘चमत्कार’ रच्यो। शुक्रबार साँझ सशस्त्र प्रहरीको टिमुरे बीओपी टोलीले भत्किएको घरको जस्तापाता र काठको टाँडमुनि लेदोले थिचिएको अवस्थामा बच्चा रोएको सानो आवाज सुन्यो र तत्कालै माटो पन्छाएर मनिषालाई जीवितै उद्धार गर्यो। धुन्चे अस्पताल पुर्याइएकी मनिषालाई प्रभु बैंकका कर्मचारी दावा तामाङले पहचान गरेर काठमाडौँमा रहेकी आमा गीतालाई फोटो पठाएपछि मात्र उनीहरूले छोरी जीवितै रहेको पत्याएका थिए।
फिलहाल, मनिषालाई थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) को बालबालिका वार्डमा भर्ना गरिएको छ। न्युरो सर्जन डा. इजन धमला र बाल रोग विशेषज्ञहरूसहितको टोलीले परीक्षण गर्दा बालिकाको शरीर, निधार र आँखामा बाहिरी चोटपटक तथा निलडाम भए पनि कुनै गम्भीर भित्री चोट वा हाडजोर्नीमा ठूलो क्षति नदेखिएको र स्वास्थ्य स्थितिमा क्रमिक सुधार भइरहेको बताएका छन्।
उद्धारले मनिषालाई नयाँ जीवन त दिएको छ, तर यो परिवारसामु अब गाँस र बासको ठूलो संकट खडा भएको छ। टिमुरेको डेरा र रोजगारी बाढीले बगाएपछि र अर्घाखाँचीमा पनि आफ्नै जमिन नभएका कारण अस्पतालबाट डिस्चार्ज भएपछि कहाँ जाने र के गर्ने भन्नेमा उनीहरू अन्योलमा छन्। बाँचियो यही ठूलो कुरा हो भन्दै मन बुझाएका यो परिवारका लागि अब पुनःस्थापना र भविष्यको सहाराको टड्कारो आवश्यकता देखिएको छ।