बाढीपीडित उद्धार तथ्याङ्क र यथार्थबिच विरोधाभाष: ९ हजारभन्दा बढी उद्धार गरिएका नागरिक कहाँ छन्?

बाढीपीडित उद्धार तथ्याङ्क र यथार्थबिच विरोधाभाष: ९ हजारभन्दा बढी उद्धार गरिएका नागरिक कहाँ छन्?

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

काठमाडौँ। भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले सार्वजनिक गर्दै आएको खोजी तथा उद्धारको तथ्याङ्क र वास्तविक अवस्थाबिच गम्भीर विरोधाभाष देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आइतबार साँझसम्म ९ हजार ४३५ जनाको सफलतापूर्वक उद्धार गरिएको विवरण सार्वजनिक गरे तापनि घटना विवरण र अन्य तथ्याङ्कले त्यसको पुष्टि गर्दैनन्।

साढे ९ हजार नागरिकको जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको भए ती नागरिकहरू कि त अस्पतालमा वा अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) मा हुनुपर्ने देखिन्छ। तर, प्राधिकरणकै तथ्याङ्क अनुसार बाढीमा परी घाइते भई अस्पतालमा उपचाररत र डिस्चार्ज भएकाको सङ्ख्या जम्मा २६७ छ भने अस्थायी आवासमा रहेकाहरूको सङ्ख्या करिब ३,५०० मात्र छ। यसले बाँकी करिब ५ हजारभन्दा बढी उद्धार गरिएका भनिएका मानिसहरू कहाँ गए र ती को हुन् भन्ने प्रश्न उब्जाएको छ।

उद्धारमा प्रत्यक्ष खटिएका सुरक्षा निकायहरू—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रवक्ताहरूसँग गरिएको कुराकानीका आधारमा सरकारले सार्वजनिक गरेको ९ हजारभन्दा बढीको यो तथ्याङ्क प्रत्यक्ष बाढीको जोखिम वा भग्नावशेषमा फसेका व्यक्तिहरूको मात्र नभएर सुरक्षित स्थानमै रहेका तर बाटो बन्द भई अलपत्र परेका नागरिकहरूको ‘स्थानान्तरण’ (Relocation) समेत जोडेर बनाइएको खुलेको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढी लगत्तै उच्च जोखिममा रहेका मानिसहरूको उद्धार सम्पन्न गरिएपछि जोखिममुक्त तर अलपत्र अवस्थामा रहेका नागरिकहरूको स्थानान्तरण गरिएको थियो। यस तथ्याङ्कमा गोसाइँकुण्ड पुगेर बाटो अवरुद्ध हुँदा अड्किएका पदयात्रीहरू, २,८४५ भन्दा बढी नेपाली र २३६ जना विदेशी पर्यटकहरू तथा बाढीका कारण विस्थापित भई डाँडा वा जङ्गलमा आश्रय लिएर बसेकाहरूलाई हवाई मार्गबाट सुरक्षित ठाउँमा ल्याइएको सङ्ख्या समावेश छ।

साथै, उद्धार सङ्ख्या बढी देखिनुमा परिवारसँग सम्पर्क विच्छेद भएका बालबालिकाहरूको स्थानान्तरण मुख्य कारण बनेको छ। त्रिशूली बजारमा पुल बगेपछि वारिपारिका विद्यालयमा अड्किएका बालबालिकाहरूलाई परिवारसँग पुनर्मिलन गराउन हेलिकप्टर प्रयोग गरिएको र त्यसलाई पनि उद्धार तथ्याङ्कमै जोडिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्ले र सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीका अनुसार प्रहरी र सशस्त्र प्रहरीले स्थलमार्गबाट घरमा हिलो पसेका, बाढीको घेरामा परेका र बिरामी/घाइते भएकाहरूसँगै सामान्य रूपमा अलपत्र परेका नागरिकहरूलाई स्थानान्तरण गरेका छन्।

यसले के स्पष्ट पार्छ भने सरकारले सार्वजनिक गरेको ‘साढे ९ हजार उद्धार’ को आँकडा जलविद्युत् आयोजना, भग्नावशेष र प्रत्यक्ष बाढीको घेराबाट जीवितै निकालिएकाहरूको मात्र नभई, उद्धार, स्थानान्तरण र पारिवारिक पुनर्मिलन गराइएका सबै नागरिकहरूको एकीकृत तथ्याङ्क हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी