**त्रिशूली–३ ‘ए’ सुरुङभित्र ४२ जनाको उद्धार प्रयास: क्राउनहेड फुटाएर ब्लास्टिङ र अक्सिजनसहित टोली भित्र पठाउने तयारी**
**काठमाडौँ।** रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी फसेका मानिसहरूको उद्धार कार्यलाई तीव्र पारिएको छ। भदौ १० गतेको विनाशकारी बाढीपछि यस आयोजनाबाट ४२ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्।
नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी सम्मिलित ९० जनाको संयुक्त टोली घटनास्थलमा अहोरात्र खटिएको छ। उद्धार टोलीले ड्रिलिङ मेसिन, एक्साभेटर र हाइड्रोलिक कटरको प्रयोग गरी सुरुङको माथिल्लो भाग (क्राउनहेड) फेला पारिसकेको छ। दिउँसो २ बजे क्राउनमा २×३ फिटको प्वाल बनाएर डोरीको सहायताले टोली तल झरी बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप तीव्र बनाउन नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।
सेनाका अनुसार प्वालबाट अवलोकन गर्दा ७ मिटरको व्यास (डाइमिटर) मा धेरै माथिसम्म पानीको सतह देखिएको छ। हाल टनेल पोर्टसम्म पुगेको टोलीले पोर्टको मुख सफा गर्ने काम गरिरहेको छ। मुख सफा गरिसकेपछि क्यामरा र अक्सिजनसहित उद्धारकर्मीहरूलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ।
पोर्टबाट करिब १८० मिटर अगाडि बढेपछि सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकिने र त्यहाँ पुगेपछि मात्र भित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था तथा सुरक्षाको स्थिति स्पष्ट हुने ऊर्जा मन्त्रालयले जनाएको छ।