काठमाडौँ। बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गरी ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले आफूले उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा बैंक भौचर पोस्ट गरेका थिए। तर, अनुसन्धानका क्रममा उक्त भौचर च्याटजिपिटी (ChatGPT) लगायतका प्रविधि प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार पारिएको खुलेको छ।
कार्कीले सरकारी कोषमा रकम जम्मा गरेको झूटा विवरण देखाउँदै आफ्नो व्यक्तिगत क्यूआर कोड (QR Code) समेत सामाजिक सञ्जालमा राखेर सर्वसाधारणबाट रकम सङ्कलन गरी ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्कीमाथि रामेछाप प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।