काठमाडौँ। भोटेकोसी बाढीपीडितका लागि चीन सरकारले पठाएको ५० टन राहत सामग्री बोकेर चिनियाँ वायुसेनाका दुईवटा ठुला ‘वाई–२०’ सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौँ अवतरण गरेका छन्। चीनको छङ्तुस्थित सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमानहरू करिब ३ घण्टाको उडानपछि बिहान सवा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको छ।
चीनले पठाएको राहत सामग्रीमा बाढीपीडितहरूका लागि आवश्यक त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड र प्राथमिक उपचार किटलगायत कुल १३ हजार २ सय थान अत्यावश्यक सामग्रीहरू रहेका छन्।
यसअघि, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिन चीनबाट पठाइएको विज्ञ टोली शनिबार नै नुवाकोट र रसुवा क्षेत्रमा खटिसकेको छ।